खण्ड १ , स्वप्न र यथार्थ,

स्वप्न दर्शन विज्ञान: कति सत्य, कति भ्रान्ति ?
September 5, 2017
विकासको बजेट पार्टी काममा लगाउनु हुन्छ ?
September 5, 2017

१. हरिद्धारमा सुर्य दर्शन ।

१. पृष्ठभूमि ः

साल २०५८ । महिना जेठ …. । नेपाल कम्युनिष्ट पार्टी (माले)ले पार्टीब्यापी अगुवा कार्यकर्ता प्रशिक्षण चलाइरहेको थियो । त्यसका निम्ती प्रशिक्षकहरूका २ समूह बनेका र्थि र तत्कालीन महासचिव वामदेव गौतमले नेतृत्व गरेको समूहमा मेरा साथै गोविन्द ज्ञावली र केशवलाल श्रेष्ठ समेत हुनुहुन्थ्यो । मेरा विषय ‘माक्र्सवादी दर्शन—द्वन्द्वात्मक भौतिकवाद’ र ‘पार्टी प्रचारलाई कसरी प्रभावकारी बनाउने’ भन्ने थिए । केन्द्रीय कमिटी सदस्यहरू, जनवर्गीय सङ्गठनका केन्द्रीय पदाधिकारी नेताहरू, राष्टिय पार्षदहरू, जिल्ला कमिटीको सचिवालाय सदस्यहरू समेतका निम्ती धनकुटामा आयोजित पुर्वाञ्चल स्तरीय प्रशिक्षण कार्यक्रम सकेर हामी अर्को त्यस्तै तीन दिने कार्यक्रमको निम्ती नारायणगढ पुग्यौं । त्यसपछि फेरि बालाजुको उपत्यकाञ्चल प्रशिक्षणमा भाग लिएर चिलामा सम्पन्न हुने भारत प्रवासको प्रशिक्षणमा सहभागी हुन जाने अग्र समूहमा गोविन्द ज्ञावली र म परेका हुँदा हामीले … गते काठमाडौं छाड्यौ । वामदेव र केशवलाल त्यो कार्यक्रम समापन गरेर हामीसङ्ग सामेल हुन तेस्रो दिन हरिद्धारमा पुग्नु भएको थियो । …………… हामीसङ्ग भारत प्रवासको पार्टी कामका जिम्मेवार देवबहादुर पौडेल पनि हुनुहुन्थ्यो । म बाटैभरि र पुगेपछि पनि माहाकाली पारीको नक्साबाट सुरु भएर काँगडासम्म पुग्ने पुर्व नेपाल भूमि, त्यहाँको हिमाल, पहाड, उपत्यका, तराइभरी फैलिएको प्राकृतिक सम्पदा र सौन्दर्य, ऐतिहाँसिकता एवम् जनता र ती सबैसङ्ग आफैसमेत गाँसिएर बनिने अखढड साझा भागको विशाल तलाउमा डुब्दै उत्रिदै गरिरहेँ ।
विहान सबेरै सुरु भएको त्यो आठ घण्टे बसयात्रा पछि हरिद्धार पुग्दा आवासको टुंगो लागि नसकेको थाहा पाएर हामी तीनै जना त्यस रातको विश्रामको निम्ती एउटा होटलमा थन्कियौं ।
२. स्वप्निक दृश्यः सामान्य भन्दा हुने तर अनौठो रोमान्चकारी भाव संचार गर्ने राती एउटा सपना देखियो । बेलुका दिन र रातको दोसाँधमा कतैबाट विराटनगरको आफ्नो घर फर्किरहेको थिएँ । पश्चिमबाट पूर्वतर्फ फर्केर हिड्दा हिड्दै घरपुग्नु भन्दा २ मिनेट अगाडि भेटिने बरपिपलका छेवैको सडकका दक्षिणी किनारतिरबाट एउटा ……. जस्तो अत्येन्त कालो चिल्लो टल्कने पाखुरा जत्रो करिब २ मिटर लामो सर्प निस्केर मेरो सामुन्नेबाट सिधै सडकवारपार उत्तर लाग्यो । त्यो लौरो झैं सरल रेखामा हिडेको साप धीर र शान्त प्रकृतिको देखिन्थ्यो । सडकमा त्यो देख्नासाथ त्यस्तै तर अलिक सानो त्यसमा आधा लम्बाईको अर्को सर्प समानान्तर दूरीमा त्यही चालले सङ्गसङ्गै घिस्रिएको देखियो । म विस्मित भएर उभिरहेँ । र, तिनीहरू सडक नाघेर निकै पर पुगे होलान भन्ने एकिन भएपछि विस्तारै हिड्दै घरतिर लागेँ ।
भोलिपल्ट अलिक पर अखण्डधाम धर्मशालामा साथीहरूले हाम्रो खाने बस्ने प्रबन्ध गरेको थाहा पाएर सबै जना उतै सर्यौ । बावदेव र केशवलाल पनि आइपुग्नु भयो । अझै दुई दिन त्यही बसेर पर्सीपल्ट जानु थियो । बेलुका धर्मशालाको सात्वीक मेजमानी खाएर सुविधापुर्वक सुत्यौं ।
आज रातीको सपना भयानक थियो । मध्यरातको बेलामा विराटनगरको आफ्नै घर, जुनको मधुरो प्रकाश पृथ्वी र आकाशभरि पोतिएको थियो । म मध्यरातमा पिसाव फेर्न अघिल्तिरको दैलो उघारेर बाहिर. निस्कन्छु, तर टाढा जान्न । पश्चिम पटिको झ्याल मुनि आगनको …….. भुईमै टुसुक्कै बस्छु । यो त्यही ठाँउ हो, जहाँ प्राण जानु अघि आतेसमा लगभग दगुर्दै र थर्थराउँदै दुई पाखुरा समातिएकी सावित्री शौच बसेकी थिइन् । म बसेको मात्र थिएँ, के भान भयो भने मेरो ठिक टाउको माथि तर नछोइकन ठूलो कालो सर्प फन्को मारेर ठडिएको छ । फैलिएको फणा अलिकति देखिन्छ । मलाइलाग्यो, एक रत्तीमात्र पनि चल्मलायो भने त्यसले मलाई ठुँग्छ । के गरौं ? कसो गरौं ? एकै निमेसभित्र जीवनभरका डरजति सबै एउटै विशाल रास बनेर म माथि छोपिएको लाग्यो, अब प्राणान्त निश्चित छ । अनि मुखबाट २ पटक बमन गरिनसक्नुको निश्सहाय र करुण आर्तनाध निस्कीयो ः आमा आमा । त्यो स्वर चर्को पनि थिएन, अधुरो पनि थिएन । त्यो चिच्याई सकेर चर्को आवाजलाई भित्रै खाएर निस्किएको त्यस्तो स्वर थियो, जुन त्यस बेला बाहेक कहिल्यै निस्कन सक्दैन । मैले आमा जीवित छँदा पनि विपना वा सपनामा कहिल्यै उहालाई त्यसरी प्राणरक्षाको निम्ती बोलाएको रहेनछु । आश्चर्य ! त्यसरी दुई पटक आमालाई बोलाई सक्दा नसक्दा सर्प हराइसकेको थियो । मैले अर्को जीवन पाएँ । वर्णानातित हर्ष बोकेर म ब्यूझिएँ । त्यस रात फेरि म निदाइनँ ।
३. पश्च घटना र प्रभावः त्यस सपनाको आलो प्रभाव केही दिनसम्म नै म भित्र रह्यो । भोलिपल्ट विहान गोविन्द ज्ञावली र म नजिकैबाट बग्ने गंगा नदी पनि हेर्ने र उतै चिया पनि खाने सुरले निस्क्यौ । चिया खाइसकेपछि पुलबाट नदी तर्ने भयौं । नदी पारी पश्चिमी पहाडको टुप्पामा चाँदीको मन्दीर छ भन्ने सुनियो । तर त्यहाँसम्म पुग्ने हाम्रो विचार थिएन । हिड्दा हिड्दै मलाई अचानक हलुका रिङ्गटालागेको जस्तो भयो । तलका धमिलो पानीको प्रभावले होला । म पुलको किनारतिर तर्किएँ । त्यस प्रकृयामा हाम्रो पछिल्तिर रहेको पहाडका पाखामा ढुंगेसिँढीको मार्गबाट सयौं मानिसहरू उकालो चढिरहेका देखिए । कमरेड त्यता पो रमित जस्तो छ । गोविन्दले भन्नु भयो जाऊँ त उतै । हामीलाई के छ र ? जता गए पनि नयाँ हेर्नु न हो । हामी फर्कियौं र उभो जाने यात्रीहरूसङ्गै उकालो लाग्यौं । आधाघण्टा सिढी उक्लीएपछि थुप्रै पसलहरू मानिसको आवागमनको घुँइचो भएको सस्यानो सम्म ठाँउमा पुगियो । मन्दिर बाहिर पुग्नासाथ नजिकैबाट देखिने दुईवटा मनषादेवीका मूर्ति भन्थे । कहिल्यै नाम नसुनेकी देवी । फर्किदा महिलाका मुर्ति रहेछन् । एउट अलि सानो, अर्को ठूलो । अझ सामान्यभन्दा भिन्न चिल्ला ति मुर्तिलाई लक्षित गरेर गइएको भए अलिक नियालेर हेरिँदो हो । एक झल्को हेरियो, हिडियो । र, अर्कोबाटो ओरालो झरियो । हामीले त्यसको न वास्ता गर्यौं, न चर्चा । राजनैतिक गफ र हिडाइमा हामी कति मस्त र ब्यस्त भएछौ भने हामीलाई सेरोफेरोको त्यती ख्याल भएन । दिउँसो बावदेवसमेत सबै जनाको ऋषिकेसको यात्रा, भोलिपल्ट देहरादुन यात्राको अपुर्ण योजना, पर्सिपल्टदेखि २ दिन चिलाको कार्यक्रममै ब्यस्त । त्यसपछि स्वदेश फर्किदै गर्दा लखनउ पुगेपछि दरबार हत्याकाण्डको लोहर्षक समाचार, भैरहवाको बाटो घर फिर्दा बाटैभरि राजनीतिक चर्चा मात्र चलिरहे ।
घर पुगेपछि आफूहरू गएका धनकुटा, नारायणगढ, काठमाडौं, हरिद्धार, ऋषिकेस र चिला समेतको यात्रा बृत्तान्त सुनाउने शिलशिलामा शारदालाई सर्पदर्शनको सपना र मनषादेवीको मन्दीर यात्राको विपना समेत सुनाइसकेपछि उनले भनिन्, त्यस मन्दिरमा पुगेर असाध्यै राम्रो गर्नु भएछ । मनषादेवी भनेकै सर्प हुन् । अघिल्लो दिन देखिएर माात्र र भोलिपल्ट टाउकै माथि चढेर समेत देवीले संकेत गरिसक्दा पनि तपाई त्यहाँ नगएको भए ठूलै अनिष्ट हुन सक्थ्यो । म छक्क परेँ । भनेँ, म गएको कहाँ छु र ? अनायास संयोगले पुगेकोसम्म हुँ । तपाईलाई त्यस्ता कुरामा विश्वास छैन । देवीले जतिपल्ट आफै बोलाउँदा पनि तपाई दर्शन गर्न नगएपछि देवीले आफै त्यहाँ पुग्न बाध्य पारेकी हुन् ।
अब म सोच्न बाध्य भएँ । हरिद्धार जाँदा तिर्फयात्राको कुनै भाव मनमा कतै थिएन । अरु नै ब्यवस्थताले ढाकिएको थियो । बावदेवजीहरू २ बजे तिर मेरो घरमा पुग्नु, एउटा गाडीमा बाटैभरी राजनीतिक कुरा गर्दै बेलुका धनकुटा पुग्नु, भोलि पर्सिपल्ट कार्यक्रममै ब्यस्त, फेरि चितवन र काठमाडौंका त्यस्तै कार्यक्रम र हरिद्धार । कतै दायाँ वायाँ मन लाने अरु कुरामा घोत्लीन अबसर नै थिएन । ती सर्प, त्यो मन्दीर, मूर्ति जस्ताहरूको त्यो सिङ्गै अध्याय त्यस यात्रा भित्र अनायास पसेको असोचित यात्रा अध्याय थियो । कुनै प्रत्येक्ष वा परोक्ष कल्पना वा वास्तविकताको पृष्ठभूमि विनै अकास्माात हाम्रो चर्चामा हस्तक्षेप गर्न टुप्लुक्क आईपुगेको पाहुना जस्तै थियो त्यो प्रसङ्ग । यो मेरो कुनै पुर्वसंस्कार, विगतको प्रभाव या त्यस मन्दिरमा पुग्ने मेरो आकांक्षाको अस्तित्व रहेको या कसैले उत्प्रेरित गरेको म थाहा पाउदिन । मैले त त्यसअघि मनसाको नामधरी नसुनेको ।
मनसा, कुनै अलौकिक देवी भए र उनले मलाई दर्शन दिन खोजेको अभौतिकवादीवादी ब्याख्या यस्तो हुन सक्ला — म प्रति मनसा कुनै आध्यात्मिक कारणले कृपालु भइन र म हरिद्धार पुगेको थाहा पाएर पहिलो दिन आमाछोरी दुवैले सपनामा दर्शन दिए । त्यसलाई मैले साधारण सपना सरह मात्र ठानेर वास्ता नगरेपछि भोलिपल्ट फेरि टाउकैमाथि फन्को मारेर आमाचाहिले चेतावनी दिइन् । त्यसलाई पनि नबुझे वा वेवास्ता गरेपछि तेस्रो दिन आफूसम्म पुग्ने बाटो देखाएर पुग्न बाध्य पारिन् । उनको प्रेरणालाई बुझेर भक्तिभावपूर्वक मैले उसबेला केही मागेको भए पुग्ने थियो । नमागेकोले कुनै लाभ भएन, दर्शन गरेकोले अनिष्ट टर्यो ।

मेरो भौतिकवादी परिकल्पनाको ब्याख्या यस्तो छ ः
मानिस मर्दा पनि काम, उनीहरूका चिन्तन र वाणी मर्दैनन् । सूक्ष्म तरङ्गहरूका रुपमा चिरकालसम्म उनीहरूको कर्मस्थलको सेरोफेरोमा जीवित रहन्छन् । हरेक मानिसमा रहेको त्यस्ता तरङ्गलाई टिप्ने र सक्रिय भएको आवस्थामा त्यो त्यस्ता तरङ्गहरूको सम्पर्कमा आइपुग्छ र त्यसले सोझो बरघुमाउदो रुपमा त्यसबाट सन्देश प्राप्त गर्दछ । कसैकसैका मस्तिष्कको त्यो तन्तु सामान्यको भन्दा बढ्ता सशक्त हुन्छ र त्यस्ताले ती तरङ्गहरूलाई टिप्ने बढी सम्भावना पाउँछन् । अरु ब्यस्तताबाट विश्राम पाएको निद्रा वा निद्रारहित अवस्थामा मस्तिष्कले तिनलाई ग्रहण गर्ने सम्भावना बढ्छ ।
यसलई अनेक घटना र ब्यवहारले पुष्टी गर्दछन् । मैले धेरै वर्षअघि कहीं पढेको थिएँ— केराको बोटले एण्टेनाले झैं टेलिभिजनका तरङ्गहरूलाई पक्रन सक्तछ । यदि यो सत्य हो भने मानिसमा पनि अविकसित र अनियन्त्रित रुपमा त्यो शक्ति रहेको हुनु असम्भव छैन । कतैबाट आकासमा हुर्याइएका र त्यतैमात्रै रहेका विद्युतीय तरङ्गहरूलाई कम्प्युटरीय शक्तिले टिपेकाअर्थात नेटवर्कबाट समातिएका सन्देशहरू पढे हेरेका अनुभवहरू अब सामान्य भइसकेका छन् ।
कुनै समयमा त्यस्तो दूरदर्शनको शक्ति जाग्रत भएको अवस्थामा कसैले टाढाका घटना घरै बसिबसी वताइदिएको वा आकासमा उडिरहेका अनेक चित्र विचित्रका रमितहरूको रमाइ रमाइ वयान गरेको देखेका भए भए हामी उसलाई सिल्ली वा पागल ठान्थ्यौं होला ।
कुनै अत्यन्त पुरानो प्राग उैतिहासिक कालमा हरिद्धारमा वस्ने सर्प कविला वा नाग कविलाकी असामान्य क्षमताकी माता रहेकी हुँदीहुन् । उनले ओर्तिर पर्तिरका अरु कविलाहरूलाई समेत वसमा राखेर ठूलो महिमा र ख्याति आर्जन गरेको हुनसक्छ । त्यसै पनि कविलाकी आमा हुन एकदमै शक्तिशालीनि नभई सम्भव थिएन । उनको शासन परम्परा निक्कै लामो समय चलको पनि हुन सक्छ । उनका शिक्षा र बहादुरीका ………हरू पछिसम्म चर्चित भए होलान् । अनि, उनलाई आदर्श मानेर उनके कविला र अरुबाट समेत पुजित भएकी ती माता देवीमा ……… हुन् होला । उनमा अलौकिक शक्तिका भाव आरोपित भए होलान् । कविलाको नाम नै सर्प भएको हुँदा उनी सर्पको रुपमा नसम्झिइने त कुरै भएन । उनका काम, वाणी, सोच र शिक्षाका तरङ्गहरू उनको सर्परुपसङ्ग गाँसिएर समयको अन्तरालमा मधुरा हँुदाहुँदै पनि अझैसम्म जीवित रहेको हुनुपर्छ । तिनै तरङ्गलाई मेरो ग्राहक शक्तिले टिेपेको बेला मैले स्वप्नमा ती दृश्य देखेको थिएँ । ती वास्तविक जीवनकै प्रतिबिम्व थिए । तर मेरै र मेरो चलिरहेको जीवनका होइन, धेरै हज्जार वर्ष अघिको जीवित तरङ्गका रुपमा रहेका र मेरो ग्रहणशक्तिको फलस्वरुप दृश्यरुपमा प्रकट भएका प्रतिविम्बहरू ।
यस स्वप्नको चर्चालाई सक्नुअघि यसैगँग तीर्थयात्राको विषयलाई जोड्ने प्रयास गरौं । मैले जानेसम्म कुनै तीर्थमा जानु भनेको कुनै अत्यन्त उर्जावान ब्यक्तिको निकट पुग्ने कोसिस गर्नु, उसका आफुलाई चाहिने असल गुणहरूआफुमा सार्ने चेष्टा गर्नु, उसका उर्जा तरङ्गहरूसङ्ग सम्बन्ध गाँस्ने प्रत्यत्न गर्नु ।
कृष्ण, भिष्म, ब्यास, सीता, द्रौपदी, वाल्मिकी, महावीर, वुद्ध, पृथ्वीनारायण, बहादुर शाह, अमरसिंह, बलभद्र, माक्र्स, एंगेल्स, लेनिन, माओ, कालीदास, राहुल सांकृत्यायन, लक्ष्मी प्रसाद देवकोटा र थुप्रै प्राचिन र अर्वाचिन ब्यक्तित्वहरू छन्, जसलाई उनीहरूको कर्मभूमि, जन्मभूमिमा पुगेर नजिकबाट हेर्न सकिन्छ, उनीहरूको उर्जा तरङ्गहरूसँग आफूलाई गाँस्ने प्रयत्न गर्न सकिन्छ । हामीलाई चाहिएको उनीहरूको उर्जा हो, त्यो प्रयोग भएका भूमिको रङ्ग होइन । यति बुझेपछि एउटा कम्युनिष्टले विश्वेश्वर प्रसाद कोइरालाको उर्जा तरङ्गलाई टिप्न र एउटा अकम्युनिष्टले लेनिनको गुणशक्तिलाई आफूमा समाहित गर्न गाह्रो मान्नु पर्दैन ।
वर्तमानमा विगतको अववोधक भन्न सकने स्वप्नको एउटा घटनाको उल्लेख गरियो । अब वर्तमानकै वा निकट भूतको सूचनादायक अर्को एउटा स्वप्नको चर्चा गरौं ।
२०४७÷०४८ तिरको कुरो हो । म त्यस बेला विराटनगरको नजता नमुना उच्च मा.वि.मा अङ्ग्रेजी पढाउथेँ । एकदिन पहिलो पिरियडका लागि हातमा उपस्थिति रजिष्टर बोकेर कक्षतिर जान अफिस अगाडिको चौरमा के पाइलो हालेको थिएँ, खुट्टैनेर तेर्सिएको मान्छेको सुकेको नलिहाडले झस्कायो । मुण्टो उठाएर हेर्दा चौरभरि नै हाडैहाडको विस्कुन रहेछ । धेरजसो नलिहाड, अनि करङ, खप्पर, हात र खुट्टाका नङ्रासहितका हड्डी, कुनै चिन्न नसकिने हाडका टुक्रा बङ्गारा । कतै खाली थिएन । सबै विद्यार्थी शिक्षक आआफ्ना कक्षामा पसिसकेछन् क्यार । चौरमा म बाहेक अर्को कोही देखिएन । खुट्टामा हड्डीले छुन नदिई बडो सावधानीपूर्वक तर्किएर घरी खुट्टाका पञ्जाले र घरी कुर्कुच्चाले टेक्दै अनि घरी फर्किदै जाँदा एक ठाउँ एउटा नलीहाडमा दाहिने खुट्टाको कुर्कुच्चो ठोकियो पनि ।
दुई महिना अगाडि मात्रै छोराको विहे सकेर खर्चवर्च रित्तीएको बेलामा कान्छी छोरीको विहेको तयारी सुरु भएकोले खर्चको जोहो गर्न आँतुरी परेको थियो । त्यसै कारण मैले पर्सीपल्टै देखि लामो बस यात्राको लागि खुट्टा उचालिसकेको थिएँँ । विरगञ्ज अनि काठमाडौं हुँदै पोखरा र पाल्पा भएर बुटवलमा अल्मलिने अनि भैरहवा पुगेर फर्कने योजना बनिसकेको थियो ।
भोलीपल्ट बाटो लाग्ने अघिल्लो दिन कस्तो सपना देखियोे भने म बेलुका पख घाम पहेँला हुूँुदा धरानको माथ्लो खहरे पुगेको रहेछु । फुस्रेतिरको बाटो दुई मिनेट हिडेपछि शौच बस्न सर्दु खोलामा झर्ने सुरले पश्चिमतिर तेर्सिएछु । खोलाको डिलमा पुगेर ओर्लिएँ । त्यतिकैमा साँझ परिसकेछ । बसेँ बसिन, थाहै छैन । मनले बसिन भन्यो । धुन जानलाई अगाडि सेता बगर छ, अनि बगरै वगर निकै हिडेपछि मात्र पानी बग्ने ठाउँमा पुगिन्छ । आखा नदेखिने बेला भैसकेको छ । डिलमाथि अघि देखेको पानी बगिरहेको कुलामा पुगेर शुद्ध हुने विचारले उक्लिएँ । कुलाको डिलमा टुक्रुक्क बसेँ । अँध्यारोले घप्लक्कै छोपिसकेको छ । आश्चर्य ! कुलामा पानीको थोपो छैन । चिसो हो कि जस्तो ठाउमा हात हाल्दा पातपतिङ्गर खसेर कुहेको लेदो भेटियो । त्यहि भए पनि दलदाल पारेको गोजीको रुमालले पुछपाछ पारुँ भन्दा झन् हातमा, जीउमा फोहोर लत्पत्तीयो । त्यसपछि ब्यूझिएँ ।
बस चढ्ने बेला हुनै आँटिसकेको थियो । हतार हतार नित्य कर्म सकेर घरबाट विदा भएँ ।
विरगन्ज, काठमाडौंका काम सक्दै चौथो दिनका दिन पोखरा पुग्दा एउटा युग वितेजस्तो लाग्न थालिसकेको थियो । कताकता बस, ट्रक लडेको दृश्य देख्दा अज्ञात भएले छोप्न खोज्थ्यो । पोखराको महेन्द्रपुलमा पसलेले ठूलै रकम बाकी राख्यो । अझै पाएको छैन । छैठौं दिनको बास बस्न छोरीकोमा निरापद पुगियो ।
भैरहवा पुगेको खुशी पनि थियो र अझै एक दिन भरिको बस यात्रा बाँकी रहेको गह्रुंगोपना पनि । आफूसँग रहेको र ठाउँठाउँमा लिन बााकी रहेको रकमबारे छोरीलाई एउटा टिपोट जिम्मा लाएर भोलिपल्टको रात्रीवसबाट विराटनगर हिडेँ । विहान घरमा पुग्दा हृदयविदारक घटनाको खबर सुनियो । म हिंडेकै अघिल्लो दिन भान्जीको इच्छामृत्यु भएछ ।
यस स्वप्न र घटनाको सम्बन्धलाई अध्यात्मिक परम्परागत दृष्टिकोणबाट हेर्ने हो भने सोझै घटनाको पूर्वसूचक सपना भन्दा पुग्छ । भौतिकवादलाई वैज्ञानिकको साटो अन्धविश्वासको दृष्टिले हेर्दा यो अप्रिय सपना र दुःखद घटनाको आकस्मिक योग मानिएला । त्यही नै पनि हुन सक्छ । तर सपना घटनाको विचमा वोधक र वोध्यको सम्बन्ध सम्भव छ भन्ने मानिसकेपछि त्यो सम्बन्धको उपस्थिति र भूमिकालाई खोज्नु पर्ने हुन्छ । अघि भनिए झैं मृत्यु पश्चात् पनि मानिसका तरङ्गहरू तरङ्गित भइरहने र विशेष जोडन मिल्दा मानिसको मस्तिष्कका ग्राहक तन्तुबाट टिपिन सक्ने भौतिकवादी विश्लेषणलाई मान्ने हो भने लाई मान्ने हो भने त्यति सजिलै प्रश्नको समाधान वताइदिएर फुर्सद पाइदैन ।
सुरुमै भनियो, स्वप्नको संसार अति नै ब्यापक र गहन छ । यो वास्तविक संसारभन्दा कम होइन, बढी नै फरक होला ।
केशव आचार्यजीका र मेरा विचमा सबै विषयका चर्चा हुन्थे स्वप्नका पनि । एक दिन उहाँले भन्नुभयो — मैले सपना आफूले गमलामा रोपेका दुईवटा विरुवा उखेलँ अनि एउटा चाहि फेरि रोपेँ । त्यसको केही दिनमा छोरीको देहान्त भयो । कस्तो पछि हुने कुरा ट्याक्कै देखे जस्तो ! फेरि त्यसको त्यस्तै वर्ष दुइएक पछि छोराको अवसान भयो । कसैले घटनापछि सपना भन्छन् । त्यसमा थोरै भए पनि थपिएको हुनसक्छ । तर घटना नघट्दै सुनाइएको स्वप्नमा भने थपघटलाई ठाँउ रहदैन ।
यस्ता पुगेका देखिने सपनाहरूको साँधी छैन । कति छन् कति । नपुगेकाहरू झन् असङ्ख्य छन् । कहिलेकाँही एकदमै विगार गर्ने खालका भनिने स्वपनको पनि केही परिणाम आउँदैन । कहिले सपनै नदेखी मानिसले ठूल्ठूला लाभ हात पार्छ वा हानी ब्यहोर्छ । विपनाको संसारका घटनाहरूको आफ्नो नियम छ । संयोगिक घटनाहरूको नियमितता र कार्यकारण सम्बन्ध नदेखिए पनि भन्छन् — त्यो छ, हाम्रो पहूँच नपुगेको मात्र हो । अनि उता स्वप्नको पनि विपनासँग आश्रित भए पनि आफ्नो संसार छ । उसका आफ्ना नियम छन्, र कतिपय चाहिँ चामत्कारिक र वेनियमका जस्ता घटना पनि पाइन्छन् । त्यहाँ कार्य कारण सम्बन्ध देखिदैन— तर त्यो छ, हाम्रो बुझाइको पहूँच त्यहासम्म पुग्न बाँकी रहेको मात्र हो ।
मानिसको शारीरिक अवस्थासँग सोझो सम्बन्ध राख्ने कतिपय सपनाहरू पुगिरहेका देखिन्छन् । बच्चाले निधाएको बेला आँगनमा खेल्दाखेल्दै पिसाव फेर्छ, ओछ्यान भिज्छ, चिसो हुन्छ । ठूलोले सपनामा यौन समागम गर्छ, परिणाम ब्युझिदा तुरुन्तै फेला पार्छ । भरपेट खाएको सपनाले ब्यूझिदा दमाहाजस्तो टुन्न परेको पेटको परिणाम हाताहाती दिन्छ । सपनामा फ्रिजबाट झिकेर चिसो खायो, विपनामा खोकीले ग्रस्त पार्छ । यहाँ यस्ता सपनाहरूको अध्ययन गर्ने भनिएको हैन ।
अघिका दृष्टान्त ……का सपनाहरूमा रहेका कार्य र परिणामका सम्बन्धहरूको खोज भने अवश्य नै आवश्यक छ । किन पनि त्यो खोजको आवश्यकता छ भने मानिसको मस्तिष्कका थुप्रै प्रणालीहरूले विश्राम गरिरहेको निद्रावस्थामा सक्रिय हुने कुनै प्रणालीले मानिस र उसँग सम्बन्धित सम्पूर्ण बाह्य जगतका उसको विगत र वर्तमानका अन्तरविरोधहरूलाई केलाएर भविश्यको निम्ती मार्गदर्शक हुन सक्ने कुनै निष्कर्ष पो प्राप्त गरिरहेको हुन्छ कि ! यदि त्यसो हो भने त्यसको अध्ययन मानिसका निम्ति महान् फलदायक हन सक्ने छ ।

२०७३ साउन ११ गते ।
काठमाडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *